News

शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सूर्य नेपाल प्रा.लि. ले सिमरा कलेज, सिमरा–२, बारा लाई चार (४) वटा अत्याधुनिक स्मार्टबोर्ड हस्तान्तरण गरेको छ।

कलेज परिसरमा आयोजित एक विशेष कार्यक्रममा सूर्य नेपाल प्रा.लि.का प्रतिनिधिहरूले कलेज व्यवस्थापनलाई स्मार्टबोर्ड हस्तान्तरण गरेका हुन्। कार्यक्रममा कलेज सञ्चालक समिति, क्याम्पस प्रमुख, प्राध्यापक र  कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका सञ्चालक समितिका अध्यक्ष् ले सूर्य नेपाल प्रा.लि. प्रति हार्दिक आभार व्यक्त गर्दै उक्त सहयोगले कलेजको शिक्षण–सिकाइ प्रक्रियालाई थप आधुनिक, प्रभावकारी तथा विद्यार्थीमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्मार्टबोर्डको प्रयोगबाट मल्टिमिडिया प्रस्तुति, अन्तरक्रियात्मक कक्षा सञ्चालन, डिजिटल सामग्रीको उपयोग तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो।

सूर्य नेपाल प्रा.लि.का प्रतिनिधिहरूले आफ्नो संस्थाले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै सिमरा कलेजसँगको सहकार्यले स्थानीय शिक्षाको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

हस्तान्तरण गरिएका स्मार्टबोर्डहरू कलेजका विभिन्न कक्षाकोठामा जडान गरी नियमित पठनपाठनमा प्रयोग गरिने जनाइएको छ। यसबाट सूचना प्रविधिमा आधारित शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीलाई आधुनिक सिकाइ वातावरण उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापनमा कलेजका तर्फबाट सूर्य नेपाल प्रा.लि.लाई कृतज्ञता ज्ञापन गर्दै धन्यवाद पत्र प्रदान गरिएको थियो। उपस्थित सबैले निजी क्षेत्र र शैक्षिक संस्थाबीचको यस्तो सहकार्यले गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा प्रविधिमैत्री शिक्षण वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

यस सहयोगले सिमरा कलेजमा डिजिटल शिक्षाको विस्तार, सूचना प्रविधिको प्रभावकारी उपयोग तथा विद्यार्थीको समग्र शैक्षिक अनुभवलाई थप समृद्ध बनाउन महत्त्वपूर्ण आधार तयार गरेको कलेजले जनाएको छ।

सूर्य नेपाल प्रा.लि.ले विगतदेखि नै सिमरा कलेजको शैक्षिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ। यसअघि चार (४) थान स्मार्टबोर्ड उपलब्ध गराइसकेको उक्त कम्पनीले पुनः चार (४) थान स्मार्टबोर्ड हस्तान्तरण गरेपछि कलेजको डिजिटल शिक्षण पूर्वाधार अझ सुदृढ भएको छ।

महालक्ष्मी विकास बैंक, सिमरा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिमरा कलेजलाई एक थान ल्यापटप सहयोग स्वरूप हस्तान्तरण गरेको छ। कलेजको शैक्षिक तथा प्रविधिमैत्री विकासमा टेवा पुर्‍याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो।

ल्यापटप प्राप्त गरेसँगै सिमरा कलेजको शैक्षिक गतिविधिलाई डिजिटल र थप प्रभावकारी बनाउन बैंकले पुर्‍याएको यो अमूल्य सहयोगका लागि कलेज प्रशासनले महालक्ष्मी विकास बैंक, सिमरा शाखाप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

पछिल्लो समय सिमरा कलेजले आफ्नो शैक्षिक गुणस्तर सुदृढीकरण (QAA प्रक्रिया) लाई तीव्रता दिइरहेका बेला स्थानीय वित्तीय संस्थाबाट भएको यस प्रकारको सहयोगलाई कलेजले निकै उत्साहजनक रूपमा लिएको छ।

विश्वविद्यालय अनुदान आयोग (UGC), नेपाल अन्तर्गतको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् (EQAAC) को QAA प्रक्रिया अनुरूप सिमरा कलेज, बाराको पूर्व-मूल्याङ्कन (Pre-Assessment) अनुगमन कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

पियर रिभ्यु टिम (PRT) द्वारा मिति २०८३ असार १० गतेदेखि १२ गतेसम्म कलेजको स्थलगत निरीक्षण तथा विस्तृत अनुगमन गरिएको हो। तीन दिनसम्म चलेको उक्त अनुगमनका क्रममा टोलीले कलेजको शैक्षिक गुणस्तर, प्रशासनिक अवस्था, भौतिक पूर्वाधार र समग्र व्यवस्थापकीय पक्षको सूक्ष्म मूल्याङ्कन गरेको थियो।

अनुगमन कार्य भव्य र सफलतापूर्वक सम्पन्न भएको अवसरमा सिमरा कलेज परिवारले सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेको छ।

कलेज प्रशासनले  उक्त महत्वपूर्ण कार्यलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अमूल्य सहयोग, निरन्तर समन्वय तथा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण आदरणीय शिक्षक, कर्मचारी, विद्यार्थी, कलेज व्यवस्थापन समिति, अभिभावक एवं शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता (आभार) व्यक्त गरेको छ।

यो पूर्व-मूल्याङ्कन अनुगमन सम्पन्न भएसँगै सिमरा कलेजले QAA प्रमाणपत्र प्राप्त गर्ने दिशामा एक महत्वपूर्ण र ऐतिहासिक कदम अगाडि बढाएको छ।

मिति २०८० माघ १२ गतेका दिन जीतपुरसिमरा उपमहानगरपालिका तथा यस सिमरा कलेजको समन्वयमा शैक्षिक स्तरोन्नतीको सन्दर्भमा आयोजित Student Learning Assessment Survey (SLAS) कार्यक्रम- २०८० सम्बन्धि छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।

सिमरा कलेज सिमराका सञ्चालक समितीका कार्यबाहक अध्यक्ष मधुकर अधिकारीको अध्यक्षतामा भएको छलफलमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पौडेल, उप प्रमुख अधिकारी, नेपाली काग्रेसका नगर सभापति छबिलाल शर्मा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, शिक्षक तथा साहित्यकार राम अधिकारी, समाजसेवी मुकुन्द बहादुर क्षेत्री, लोसपाको नगर अध्यक्ष शिवजी साह, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति शुरेस के. सी., सुर्य नेपाल उद्योगको प्रतिनिधि यज्ञ बहादुर आले लगायत समाजिक, शैक्षिक तथा राजनितीक क्षेत्रको अगुवाहरुको सहभागिता रहेको थियो । 

आज मिति २०८० पौष २८ गते, शनिबार यस सिमरा कलेज, सिमराका पूर्व विद्यार्थी भेला (Alumni Meet) - २०८०(२०२४) बाट तपसिल अनुसार तदर्थ कार्य समिति गठन गरेको जानकारी गरिन्छ ।

अध्यक्ष : नृपराज बराल

उपाध्यक्ष : सोनी कार्की

कोषाध्यक्ष : राजु कुमार दास बनिया

सचिव :सुमित अधिकारी

उप सचिव : श्रीराम रेग्मी

सदस्यः

कृष्ण अधिकारी

चेत बहादुर बस्नेत

पशुराम चौधरी

सन्जिव सुवेदी

कुन्दन शाह

अनिश रेग्मी

मिति २०८० पौष ०४ गते यस कलेजको छैठौं कलेज सभा २०८० जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख श्री राजन पौडेल ज्यू को प्रमुख आतिथ्यमा सम्पन्न भयो । उक्त कलेज सभामा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उप प्रमुख, शैक्षिक व्यक्तित्व, समाजसेवी र यस कलेजका कलेज सभा सदस्यहरुका साथै प्राध्यापक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।